परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको र कृषि विकासका लागि संचालनमा आएका क्रियाकलापहरु छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैन । कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेको छैन । गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक प्रबिधि, सिंचाई, कृषि सडक, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा ब्यबस्थित बजार ब्यबस्थापन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएको छ ।
पोखरा नेपालको सबभन्दा ठूलोे तथा पर्यटकीय दृष्टिकोणले एक नमुना महानगर हो । गण्डकी प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा बढदो शहरीकरण, यातायात बिस्तार, जनसंख्या सँगै खाद्यान्न माथिको चाप बढदै गइरहेको छ । मुख्य शहरमा घना बस्ती, जग्गा घडेरिकरण तथा गाउँ स्तरमा देखिएको बढ्दो बाँझोकरण ले गर्दा कृषि उत्पादन तथा वितरणमा समस्या देखा परेको छ । दैनिक उपभोग्य बस्तुमा बढदै गएको परनिर्भरताका कारण बाह्य क्षेत्रबाट आयत गरिरहनुपरेको छ । तर बिस्तारै तरकारी, फलफूल, खाद्यान्न उत्पादन तथा पशुपालन हाल आएर व्याबसायिकता तर्फ द्रुत रुपमा अघि बढेको छ । व्यवसायिक कृषिको कारणले रोजगारीको अवसर र आम्दानीमा बृद्धि भई कृषकहरुको जीवन पद्धतीमा सुधारात्मक परिवर्तन ल्याउन सहयोग गरेको देखिन्छ ।
जैविक विविधता ले भरिपुर्ण ४६४.४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरको तल्लो भेग कोत्रे ( लगभग ५०० मिटर ) देखि मिटर देखि पन्चासे, अर्मलाकोट ( लगभग २६०० मिटर ) सम्मको उचाइमा अवस्थित रहेको छ । पोखरा महानगरको कुल क्षेत्र मध्ये ४६ प्रतिशत भुमि कृषि योग्य जग्गा रहेको, ४१ प्रतिशत क्षेत्र जंगल, ८.३ प्रतिशत क्षेत्र संरचना, पानि ले ओगटेको क्षेत्र २.९५ प्रतिशत तथा बाकि प्रतिशत अन्य क्षेत्र रहेका छन् | यस पालिकाका ३३ वडाहरु मध्ये १३ वडाहरुमा सघन बस्ती र मुख्य बजार क्षेत्र भएका कारण उपभोक्ता बढी भएका क्षेत्रहरु छन् भने बाँकी २० वडाहरुमा कृषियोग्य भूमी भएको, विविध बाली उत्पादन गर्न सकिने, सडकको सन्जालले जोडिएको, मूख्य बजारबाट नजिक भएकोले ब्यवसायिक कृषि को लागि प्रशस्त सम्भावना भएका क्षेत्र हुन् । मध्यपहाडि क्षेत्र अन्तर्गत पर्ने यो क्षेत्रमा बिबिध बालीहरुको खेती गर्न सकिन्छ तैपनि प्राविधिक दृष्टिकोणले ब्यवसायिक रुपमा उत्पादन गर्न सकिने र बजारको माग भएका बालीहरुमा फलफुल तर्फ सुन्तला जात, कफी, आलु, तरकारी – मौसमी तथा बेमौसमी, खाद्यान्न तर्फ धान, मकै, कोदो, फापर, तोरी मसला तर्फ अलैंची, अदुवा, बेसार, अन्य बाली तर्फ मौरी पालन, च्याउ खेती, माछापालन, फुल खेती को प्रबल सम्भावना रहेको छ । यसका साथै उच्च मूल्यका बस्तुहरु एभोकाडो, किवी, मेकाडेमिया नट, केरा आदिको पनि सफल परिक्षणहरु भइसकेका छन् । उपभोक्ताको बढ्दो माग, वातावरणमैत्री, दिगो तथा गुणस्तरीय कृषि उत्पादनको लागि प्रांगारिक उन्मुख कृषि प्रणालीको आवश्यकता छ । स्थानीय तथा बाह्य पर्यटकको माग सम्बोधन गर्न जैविक विविधता, स्थानीय बस्तुको प्रयोग तथा प्रचार प्रसार को लागि कृषि पर्यटनमा जोड दिनु उत्तिकै जरुरी देखिन्छ । यस क्षेत्रलाई बिशेष रुपमा चिनाउने र विगत देखि नै व्यवसायिक रुपमा उत्पादन गरिदै आएका कृषि उत्पादनलाई थप बिस्तार, ब्यवसायिक, गुणस्तरीय र रोजगारीमूलक बनाउने योजना संचालन गर्ने मुख्य उद्देश्य रहेको छ |